नियम ८२
सेवा शुल्कको वितरण
होटल, मोटल, रेष्टुरेन्ट, जंगल सफारी वा यस्तै अन्य व्यवसाय गर्ने रोजगारदाताले ग्राहकबाट कुनै सेवा शुल्क लिएको भए त्यस्तो सेवा शुल्क रकम देहाय बमोजिम श्रमिकलार्इ वितरण गर्नु पर्नेछः-
(क) यो नियमावली प्रारम्भ भएपछि रोजगारदाता सङ्गठन तथा सम्बन्धित व्यवसायसँग सम्बद्ध अधिक प्रतिनिधिमूलक ट्रेड युनियन संघबीच सम्झौता भएकोमा सोही बमोजिम,
(ख)  खण्ड (क) बमोजिम सम्झौता नभएकोमा सेवाशुल्क बापत उठाइएको मासिक रकमलाई शत प्रतिशत मानी देहाय बमोजिम वितरण गर्नेः
(१)  प्रतिष्ठानमा कार्यरत श्रमिक, ऐनको दफा १८ बमोजिम कार्यरत तालिमी वा श्रम आपूर्तिकर्ता मार्फत कार्यरत श्रमिकलार्इ दामासाहीले कुल रकमको एकहत्तर प्रतिशत रकम,
(२)  ब्रेकेज तथा अपरेशनल लिकेज व्यवस्थापनको लागि रोजगारदातालार्इ कुल रकमको चौबीस प्रतिशत रकम,
(३)  होटल व्यवसायसँग सम्बन्धित रोजगारदाताको सङ्गठनले दुई दशमलब पाँच प्रतिशत तथा होटल क्षेत्रका अधिक प्रतिनिधिमूलक ट्रेड युनियन संघले दुई दशमलब पाँच प्रतिशत।